मुख र आँखा सुख्खा हुने ‘जोग्रेन सिन्ड्रोम’: लक्षण र उपचार


डा. विनय रेग्मी

 

सन् १९३३ मा स्विट्जरल्याण्डका आँखा चिकित्सक हेनेरिक जोग्रेनकहाँ एउटै प्रकृतिका समस्या लिएर बिरामीहरु पुगे । अधिकांश बिरामीको समस्या थियो, आँखा र मुख सुख्खा हुने । उनीहरुमा थुक निकाल्ने ग्रन्थि (पारोटिड ग्ल्याण्ड) बढेको पाइयो ।

 

यस्तो समस्या डा. जोग्रेनले पत्ता लगाएकाले यसलाई जोग्रेन सिन्ड्रोम (Sjogren’s syndrome) भनिन्छ । यो सिन्ड्रोम एक किसिमको बाथ रोग हो ।

जोग्रेन भएमा सबैभन्दा पहिले हाम्रो शरीरमा हुने टी र बी सेल्सले संकेत गर्छन् । ती सेल्सको असन्तुलनका कारण इनेट पाथमा जलन हुन्छ, त्यसबाट शरीरमा बन्ने अटो एण्टीबडीलाई एन्टी रो र एन्टी ला भनिन्छ । यसले गर्दा मुख र आँखा सुख्खा हुने जस्ता लक्षण देखिन्छन् ।

जोग्रेन सिन्ड्रोम दुई प्रकारका हुन्छन्:

१. प्राइमरी जोग्रेन (जोग्रेन मात्र हुने)

२. सेकेण्डरी जोग्रेन (अरु बाथ रोगसँगै आउने)

सामान्यतया यो रोग लागेका बिरामीहरु सुरुमा धेरै मुख सुख्खा र आँखा सुख्खा भयो भनेर चिकित्सककहाँ आउने गर्छन् । तर, यी लक्षण देखिँदैमा जोग्रेन नै भएको भन्ने हुँदैन । यस्ता लक्षण अन्य कारणले पनि देखिने भएकाले पहिले खास कारण पत्ता लगाउनुपर्ने हुन्छ ।

जस्तै: मधुमेह भएका, पानी कम पिउने, धेरै गर्मी हुने ठाँउमा बस्ने, खास किसिमका औषधि सेवन गर्ने, रेडिएसन थेरापी लिएका लगायत मानिसमा पनि मुख र आँखामा सुख्खापन देखिन सक्छ ।

जोग्रेन भएको कसरी थाहा पाउने ?

कुनै पनि मानिसमा ३ महिनाभन्दा लामो समयदेखि निम्न लक्षण देखिए उसलाई जोग्रेन भएको अनुमान गर्न सकिन्छ:

 – मुख अत्यधिक सुख्खा हुनु ।

– खाना खाँदा पटकपटक पानी पिउनैपर्ने, पानी बिना खाना निल्न नसक्नु ।

– सुख्खा किसिमका खानेकुरा जस्तैः पाउरोटी, बिस्कुट, चिउरा आदि खान निकै गाह्रो हुनु ।

– खानेकुरा गिजामा अड्किनु र गिजामा घाउहरु हुनु ।

– गालाको छेउछाउमा हुने थुक निकाल्ने ग्रन्थिहरु बढ्नु ।

– आँखा अत्यधिक सुख्खा महसुस हुनु ।

– रुँदा आँसु नआउनु ।

– आँखामा बालुवा वा धूलो पसेको जस्तो अप्ठेरो महसुस हुनु ।

रोगले निम्त्याउने असर

जोग्रेनले कतिसम्म असर पुर्‍याउँछ भन्ने यकिन हुँदैन । यो रोग मुख र आँखा सुख्खा पार्नमा मात्र सीमित रहन पनि सक्छ । यसका साथै यसले अरु अंगमा असर पुर्‍याउन सक्ने सम्भावना पनि त्यत्तिकै हुन्छ ।

डा. विनय रेग्मी

आँखा र मुख बाहेक अरु अंगमा पनि असर गर्ने जोग्रेनलाई एक्स्ट्राग्ल्याण्डुलर जोग्रेन (Extraglandular Sjogren) भनिन्छ । त्यसो भएमा यस्ता असर देखिन्छन्:

– छाला सुख्खा हुने ।

– जोर्नीहरु दुख्ने ।

– फोक्सो तथा श्वासनलीमा सुख्खापन हुने ।

– दम रोग निम्त्याउने ।

– महिलाहरुलाई योनिमा सुख्खापन हुने ।

– मिर्गौलामा असर गरेर टुबुलर एसिडोसिस (शरीरमा एसिड जम्मा भएर मिर्गौला फेल गराउन सक्ने रोग) गराउने ।

– खाने नलीमा अत्यधिक सुख्खापन भएर खाना निल्न समेत अप्ठ्यारो हुने ।

– केही बिरामीहरुमा पछि लिम्फोमा (शरीरमा गिर्खाहरु आउने) पनि हुनसक्छ ।

रोगको पहिचान कसरी गर्ने ?

यदि ३ महिनाभन्दा बढी समयसम्म मुख र आँखा बढी सुख्खा हुन्छ र गालाको छेउछाउमा थुक निकाल्ने ग्रन्थिहरु बढेको पाइए जोग्रेन भएको आशंका गर्नुपर्छ । त्यस्तो लक्षण देखिए आँखाको विशेष किसिमको जाँच (सिरमर टेस्ट) गराउनुपर्छ ।

यो जाँचअन्तर्गत आँखामा विशेष किसिमको कागज राखिन्छ र आँसुको मात्राको जाँचिन्छ । कागज राखेको १ मिनेटमा ५ एमएमभन्दा बढी भिजेको हुनुपर्छ । यदि एक मिनेटमा सोभन्दा कम कागज भिजेमा सुख्खापन भएको बुझ्नुपर्छ ।

थुक निकाल्ने ग्रन्थिको एमआरआई सिआलोग्राफी तथा ओठको बायोप्सी गर्दा पनि रोगको पहिचान हुन सक्छ । रगतमा एण्टीबडी एण्टी रो र एण्टी ला जाँच गराउनुपर्छ ।

रोग पहिचान भएका बिरामीको उपचार गर्ने उपाय

 – मुख सफा राख्ने ।

– आँखामा नियमित रुपमा औषधि हाल्ने ।

– इम्युनोसप्रेसिभ नामक औषधिको सेवन गर्ने ।

– सुख्खापन मुख र आँखामा मात्र सीमित रह्यो भने खासै आत्तिनु पर्दैन । तर, अरु अङ्गहरुमा पनि असर बढ्न थाल्यो भने औषधिको प्रयोग गर्नुपर्छ ।

(डा. रेग्मी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंका बाथरोग विशेषज्ञ हुन् ।)

http://www.onlinekhabar.com/2017/07/608543/



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Patient Voice- Dipesh Pun
17 December 2017

READ MORE
Health Hotline with Dr Prashant Tripathi
02 November 2017

READ MORE