बाथरोगका यी अनेक प्रकार र लक्षणबारे जानौँ


 

डा. विनय रेग्मी

 

 

साधारणतया सबैजसो जोर्नी दुखाइलाई हामी बोलिचालीको भाषामा बाथ रोग भनेर सम्झिन्छौँ। के बाथ रोग जोर्नीको दुखाइलाई मात्र भनिन्छ त? बाथ रोग किन हुन्छ? बाथ रोगका लक्षणहरु के-के हुन्? कसले र कहाँ यसको उपचार गर्ने? जस्ता जिज्ञासा सबैको मनमा उब्जिन्छ।

बिरामीलाई भेटेपिछेका मान्छेले आ-आफ्नो विज्ञता छाँट्ने चलन नेपाली समाजमा छ। फेरि हामी जसले जे भन्यो त्यो पत्याइदिने चरित्रका छौँ। त्यसैले जथाभावि औषधि, धुलो, झारपात, धामीझाक्रीको पछाडि दौडँदादौडँदै कुन समयमा रोगले जटिल रुप लिन्छ पत्तै हुँदैन।

बिरामीको मनमा खेलिरहने कुरा हो, 'जसरी हुन्छ दुखेको निको होस्।' तर औषधि के हो? चिकित्सकको सल्लाहबिना औषधि खाँदाका बेफाइदा के हुन्? भनेर गम्ने फुर्सद न बिरामीलाई हुन्छ न परिवारजनलाई नै।

अर्कोतिर बिरामीलाई औषधिबारे राम्रोसँग जानकारी गराउने फुर्सद हामीमध्ये कमै डाक्टरलाई मात्र हुँदो हो। त्यसैले यहाँ सरल भाषामा बाथरोगबारे चिरफार गर्ने कोसिस गरेको छु। बाथ रोगको लक्षण, उपचार र औषधिबारे चर्चा गरेको छु।

बाथ रोग जोर्नी दुख्ने मात्र नभई अन्य रोगको लक्षणका रुपमा पनि देखा पर्छ। कहिलेकाहीँ एक्लो रोगका रुपमा पनि बाथरोग देखा पर्न सक्छ भने कहिलेकाँही अन्य रोगसँग मिसिएर पनि देखिन्छ।

बाथ रोग नसर्ने प्रकृतिको दीर्घ रोग हो। यो रोगको औषधि बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ। धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो हुने तर औषधि सेवन गर्न छाडेपछि फेरि बल्झने खालका हुन्छन्। समयमा उपचार नपाउँदा बाथरोग मृत्युको कारण पनि बन्न सक्छ।

साधारणतया बाथरोगहरु रोग प्रतिरोधात्कम प्रणाली (इम्युन सिस्टम) का कारण हुन्छन्। यिनीहरुले धेरैजसो ‘अटो एन्टिबडी’ बनेर शरीरको जोर्नी लगायतका अन्य अङ्ग (जस्तैः छाला, आँखा, मस्तिष्क, मुटु, फोक्सो, मृगौला आदि) मा असर पुर्‍याउँछ। अटो इम्युन रोगहरु धेरै प्रकारका हुन्छन्। हरेक रोगका आ–आफ्ना प्रकार र लक्षण हुन्छन्।

बाथरोगका विभिन्न नाम

– रिउमाटोइड आरथ्राइटिस (आरए)

– जुभेनाइल इडियो प्याथिक अरथ्राइटिस (जेआईए)

– जोग्रेन सिन्ड्रोम (एसएस)

– स्पोन्डिलो आर्थ्राइटिस (एसपिए)

– कनेक्टिभ टिस्यु डिस्अर्डर (एसएलई)

– स्क्लेरोडिमा

– इन्फ्लामेटरी मायोप्याथी (डर्माटोमायोसाइटिस डाइमोसाइटिस)

– भास्कुलाइटिस (स्मल भेसल/लार्ज भेसल/मिडियम भेसल)

– क्रिस्टल आर्थ्रोप्लास्टी (युरिक एसिड र अन्य)

– अस्टियो आर्थ्राइटिस (ओए)

– अस्टियो पोरोसिस, अस्टियो नेक्रोसिस

माथि उल्लेख गरिएका रोगहरुका भिन्न-भिन्न लक्षण हुन्छन्। साधारणतया बाथ रोगमा यस्ता लक्षण देखिन्छन्।

– हातखुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।

– बिहान उठ्नेबेलामा जोर्नीहरु करकर गर्ने, केही बेरपछि जोर्नी खुल्दै जाने।

– चिसो पानीमा हात डुबाउँदा, पानी चलाउँदा या जाडो मौसममा हातका औंलाहरु नीलो र सेतो हुने।

– बिस्तारै आफ्ना जोर्नी र औंलाहरु बाङ्गिएको महसुस हुने।

– अनुहार, हातसहित शरीरका मांसपेसीहरु कस्सिएर आउने।

– छाला चाउरी नपर्ने, नखुम्चने र औंलाका टुप्पोमा घाउ आउने।

– विभिन्न बाथ रोगको असर फोक्सोमा परेर समस्या हुने।

– खोकी लाग्ने र लामो समयसम्म निको नहुने र खोक्दा रगत आउने।

– मुख एकदम सुख्खा हुने र खाना निल्दा पटकपटक पानी पिउनुपर्ने।

– मुख सुख्खा भएर गिजामा घाउ आउने।

– आँखा सुख्खा हुने र आँखामा बालुवा पसेजस्तो भएर बिझाउने।

– थुक निकाल्ने ग्रन्थीहरु सुन्निने र गाला फुलेको र सुन्निएको जस्तो देखिने।

– हात गोडाका औंलाहरु नीलो वा कालो भएर झर्ने।

– मुखमा र गुप्ताङ्गमा बारम्बार घाउ-खटिरा आउने।

– लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने।

– आँखा रातो हुने।

– हात गोडाका एउटा मात्र औंला सुन्निएर आउने।

यी सबै लक्षण सबैखाले बाथरोगमा देखिँदैन। तर, बारम्बार यस्ता लक्षण देखिए बाथरोग विशेषज्ञकहाँ गएर परामर्श लिनु उपयुक्त हुन्छ।

साधारण रुपमा हामी सबैलाई ढाड दुखेकै हुन्छ। बुढापाका मानिसलाई उमेरका कारण, कामका कारण हड्डी खिइएर ढाड दुखेको पाइन्छ तर बाथरोगका कारण हुने ढाड दुखाइ अलि भिन्न किसिमको हुन्छ।

ढाड दुखाइ राति बढी हुन्छ र दुखेर निद्राबाट उठ्नुपर्ने र ओल्टेकोल्टे फेर्न समेत नसकिने हुन्छ। बिहान उठ्ने बित्तिकै कक्रक्क परेर हलचल गर्न समेत गाह्रो हुन्छ। केहीबेर तन्काएपछि र काम तथा कसरत गर्न थालेपछि मात्र दुखाइ कम हुन्छ।

यस किसिमका दुखाइमा काम, कसरत र दुखाइ कम गर्ने औषधि सेवन गरेपछि बिरामीले राहत महसुस गर्छन्। बाथरोगको समयमै निदान, निरुपण र उपचार नभएमा रोग जटिल अवस्थामा पुग्छ र बिरामी चलमल गर्न नसक्ने भएर थला पर्छन्।

नेपालमा बाथरोगको अवस्था

नेपालमा बाथरोगका बिरामीको अनुपातमा विशेषज्ञ चिकित्सक एकमदै कम छन्। केही समय अघिसम्म बाथ रोगका विशेषज्ञ रिउमाटोलोजिस्टको अभावका कारण बिरामीहरु भारतमा गएर उपचार गराउँथे। अहिले भने अवस्था अलि फेरिएको छ। केही वर्षयता बाथरोगको विशेषज्ञ चिकित्सकको उपलब्धताले स्वदेशमै उपचार सम्भव छ। धेरै बिरामी र थोरै विशेषज्ञ चिकित्सक भएका कारण बिरामीले उपचारका लागि लामो समय पालो कुर्नुपर्ने अवस्था भने कायमै छ। विशेषज्ञ चिकित्सकहरु पनि काठमाडौँ केन्द्रित भएकाले राजधानी बाहिरका क्षेत्रमा बाथ रोगको उपचार अझै सहज हुन सकेको छैन।

हालसम्म बाथरोगका विशेषज्ञ चिकित्सकको संख्या बढाउन सरकारी तबरबाट कुनै पहल भएकै छैन। जे ति विशेषज्ञ छन् उनीहरुले आफ्नै खर्चमा शिक्षा र तालिम लिएर आएका हुन्। सरकारको दूरदृष्टिबिना बाथरोगका आम बिरामीलाई उपचारको पहुँचमा ल्याउन मुस्किल छ।

बाथ रोगमा गरिने अटो एन्टिबडी जाँचहरु अझै सहजसँग उपलब्ध हुन सकिरहेको छैन। यी परीक्षण निकै महँगा हुन्छन्। यदि सरकारले बाथरोगका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने, यसका परीक्षणहरु सरकारी अस्पतालहरुमै सहज बनाउने हो भने विपन्न नागरिकको उपचारमा पहुँच पुग्नेछ। होइन भने बाथरोगका धेरै बिरामी रोग पालेर जीवन बिताउन बाध्य हुनेछन्।

चिकित्सकको भूमिका

बाथ रोगको उपचारमा बिरामी जाँच्नु र औषधि दिनु मात्र पर्याप्त हुँदैन। रोगबारे राम्रोसँग जानकारी गराउनु र औषधिका असरबारे बिरामीलाई अवगत गराउने जिम्मेवारी चिकित्सकको हो। रोगको प्रकृतिअनुसार अन्य विभागका चिकित्सकहरुसँग परामर्श गर्ने र थप उपचारका लागि अन्य चिकित्सककहाँ रिफर गर्ने काम चिकित्सकले गर्नुपर्छ।

नेपालमा आफूकहाँ आएको बिरामीलाई अरु चिकित्सककहाँ रिफर नगर्ने चलन छ। रिफर गर्दा आफ्नो आत्मसम्मान घटेको अनुभव गर्ने र आफू सानो होइन्छ भन्ने सोच धेरै चिकित्सकमा पाइन्छ। समयमै विशेषज्ञकहाँ रिफर गर्दा बिरामीले उचित उपचार पाउँछन्। रोगलाई जटिल अवस्थामा पुग्नबाट जोगाउन सकिन्छ।

बाथरोगको उपचारमा हाडजोर्नी र छालाका समस्या मात्र निको पारेर हुँदैन। बाथरोगले निम्त्याउने अन्य रोग र असरहरु समेतको उपचार बाथरोग विशेषज्ञबाट मात्र सम्भव छ।

बाथरोगका औषधि

बाथरोगका औषधिहरु धेरै थरिका हुन्छन्, जसलाई डिमार्ड्स भनिन्छ। यी औषधि लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ। औषधि कहिलेसम्म खाने, कहिले कम गर्ने र कहिले बन्द भन्ने कुरा चिकित्सकको निगरानीमा गर्नुपर्छ। बाथ रोगका औषधि ‘इम्युनोसप्रेसिभ’ (रोग प्रतिरोधात्मक क्षमता कम गर्ने) किसिमका भएका कारण समय-समयमा यी औषधिका असरबारे जान्न रगत, पिसाब, एक्सरे लगायतका जाँच गर्नुपर्ने हुन्छ।

बाथरोगका औषधिले रगतमा कमी ल्याउने र कलेजोमा असर पुर्‍याउने पनि हुन्छ। त्यसैले चिकित्सकले बोलाएको समयमा रगत जाँच गराई अनुगमनका लागि अनिवार्य रुपमा पुग्नुपर्छ।

खाने औषधिबाहेक नशामा या छालाको बोसोमा दिने सुईहरु पनि हुन्छन्। यी सुईहरु केही सातामा एकपटक र केही दुई सातामा एकपटक वा दुई महिनामा एकपटक दिनुपर्ने किसिमका हुन्छन्। खाने औषधिले रोग निको नभएमा यी सुईहरु प्रयोग गर्न सकिन्छ। यी सुईहरु महँगा भए पनि अत्यन्त प्रभावकारी हुन्छन्।

(बाथरोग विशेषज्ञ डा. रेग्मी ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन्)

http://swasthyakhabar.com/news-details/2809/2017-02-06



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Eye Care @ Health And Wellness
23 August 2017

READ MORE
Health Hotline with Dr. Milan Prakash Shrestha
23 August 2017

READ MORE