हृदयाघातका यी हुन् अदृश्य कारण, डा.ओममूर्तिले दिए मुटु जोगाउने नयाँ टिप्स



मुटु रोग लाग्नुका धेरै कारण छन् । उच्च रक्तचाप, मधुमेह, मोटोपना, अत्यधिक मदिराको सेवन, धुम्रपान, मानसिक तनाव, कोलेस्ट्रोल, शारीरिक निष्कृयता लगायतका थुप्रै कारणले मुटु रोग लाग्न सक्छ । यी सामान्य विषयका वारेमा धेरैलाई जानकारी छ । यि विषय धेरै पटक चर्चामा आइसकेका छन् । कपितयले जानकारी पाएर आफ्नो जीवन शैली परिवर्तन गरेका छन् भने कतिपयलेचाहिँ आफ्नो जीवनशैली परिवर्तन गर्न सकेका छैनन् । 

माथि उल्लेखित विषयहरू मुटु रोगका कारक तत्व हुन् । तर मुटु रोगका नदेखिने थुप्रै कारक तत्व पनि छन् । विगत केही वर्षयता स्वस्थ जस्तो देखिने व्यक्तिमा पनि हृदयघातको समस्या देखिएका अनुसन्धानका निश्कर्ष छन् । 

हृदयघातका विरामीहरुको परीक्षण गर्दा उनीहरूलाई केही न केही समस्या भएको देखिन्छ । तर १० प्रतिशतमा चाहिँ केही पनि समस्या देखिएको हुँदैन । उनीहरू सोझै हृदयघातको सिकार बनेका हुन्छन् । यो उनीहरुमा भएका केही गलत बानीका कारणले गर्दा भएको हो । 

आजभोलि कुनै कारण बिनानै हृदयघातको सिकार हुनेको संख्या बढिरहेको छ । अर्थात स्वस्थ मानिसलाई पनि हृदयघात हुन सक्छ । किनकी उसको शरीरमा नजानिँदो तरिकाले उच्च कोलस्ट्रोल जम्मा भइसकेको हुन्छ ।

देखिने मुटुरोगको बारेमा धेरैलाई जानकारी छ । तर मुटुरोगका नदेखिने कारणहरूको बारेमा चर्चा गर्नु जरुरी भइसकेको छ । सबै कुरालाई गहिरिएर हेर्दा यहाँ केही नदेखिने तत्वहरु छन् । हामीलाई निरन्तर नराम्रा वानी र व्यवहारले रोग लागिरहेका छन् । हेर्दा सामान्य स्वस्थ मानिसमा पनि मुटु रोग देखिन सक्छ ।

के हुन् नदेखिने कारण ?
हामी कुनै बेला दुःखी हुन्छौं । कुनै बेला खुसी पनि हुन्छौं । हामीलाई संवेगात्मक विषयले पनि मुटु रोगको जोखिमतर्फ लगिरहेको हुन्छ । रिसाउँदा, कामको चाप बढ्दा मुटुमा केही न केही परिवर्तन आउँछ । तर आँखामा, कलेजोमा, किड्नीमा त्यो समस्या देखिँदैन् । अरु अंगको प्रक्रिया लगभग सामन्य अवस्थामै चलिरहेको हुन्छ ।

मुटुलाई चाहिँ सानो सानो कुराले पनि असर गरिरहन्छ । सोचिरहँदा मुटुको धड्कन बढ्न सक्छ । यसलाई विशेष तरिकाले हेर्नुपर्छ । यसमा केही नसोचेका तत्वहरु छन् । हामीले त्यसको बारेमा सोचेका पनि छैनौं ।

रिस, कामको तनाव, प्रतिस्पर्धाको धपेडी र चिन्ता, बेचैनी, दुःखीपन यी सबै कारणले मानिसलाई डिप्रेसनको सिकार बनाउँछ । केही सामाजिक पक्षहरु पनि छन् । जसले मुटु रोगको जोखिम बढाईरहेका छन् । अरु थुप्रै नदेखिने कारणहरु पनि छन् ।

प्रदुषण
प्रदुषणले मान्छेलाई प्रत्यक्ष असर गरिरहेको छ । बाटोमा हिँड्दा हामीले हरेक दिन प्रदुषणको सिकार भईरहेका हुन्छौं । तर हामीलाई यसबारेमा थाहा हुँदैन । धुवाँ, तरलता र सानो सानो कणको माध्यमबाट हामीले प्रदुषण खाएका छौं ।

प्रदुषणको कारणले मुटुमा रगत जम्ने क्षमता बढ्छ । रगतको प्रवाहमा पनि यसले असर गर्दछ । रगत प्रवाहमा कठिनाई हुन्छ । अनुसन्धानहरुले के देखियो भने प्रदुषणमा परेको मान्छेलाई तत्कालै पनि वा एक दुई हप्तासम्म पनि मुटुको रोगको जोखिम हुन्छ ।

प्रदुषणले जुन रसायनहरू शरीरमा उत्पादन भएका छन्, तिनीहरु लामो समय सम्मका लािग पनि उत्पादन भइरहेका छन् । यो देखिने तत्व होइन ।

रिस
अब रिसको कुरा गरौं । जहाँ पनि हामीलाई रिस नउठ्ने दिनै छैन । हामीलाई कुनै न कुनै मात्रामा रिस उठ्छ । तर हामीले स्वीकार गर्नसकेका छैनौं । 

तर मैले जुन दिनदेखि रियलाइज गरें, म रिसाउन छोडे । रिसाउँदा रक्तचाप बढ्छ । धड्कन पनि बढ्छ । त्यसले मुटुमा असर पुर्याउँछ ।

लगभग सबै मान्छेको मुटुको नलिमा अलिअलि कोलस्ट्रोल जमेको हुन्छ र त्यो पातलो झिल्लिले ढाकिएको हुन्छ । झिल्ली व्यक्ति अनुसार पातलो र मोटो हुन्छ ।

बेस्सरी रिसाएको बेला त्यो झिल्ली फुट्यो भने हृदयघात हुन धेरैबेर लाग्दैन । झिल्ली फुट्नेबित्तिकै नलीमा भएको फोहोर मुटुका हरेक कुनामा पुग्छ ।

मान्छेमा विश्वास, स्वीकार्यता, हेरचाह, प्रकृतिसँगको निकटता, खुसी लगायतका कुराको अभावले रिस उठ्छ । ३० देखि ३५ वर्षका मान्छेहरूलाई हेर्दा २० प्रतिशत मान्छेको नलीमा केही न केही अड्किएको देखिन्छ । रिसाउँदा झिल्ली फुट्यो भने त्यो सोझै हृदयघातको कारण बन्ने हो ।

वंशाणुगत तत्व
मान्छेमा वंशाणुगत कारणले पनि हृदयघात हुन सक्छ । यो कुरा मान्छेलाई थाहा हुँदैन । तर जुन बेला हृदयघात हुन्छ त्यो बेला मात्रै थाहा हुन्छ कि परिवारको कुनै न कुनै सदस्यलाई कुनै समय हृदयघात भएको थियो । त्यसैले यस्तो जोखिमको बारेमा पनि जानकारी हुनु आवश्यक छ ।

कार्यबोझ र त्यसको तनाव
कामको तनाव पनि मुटु रोगको अदृश्य कारण हो । प्रतिस्पर्धाले गर्दा हामीलाई जतिबेला पनि तनाव दिइरहेको हुन्छ । काम गर्ने ठाउँमा काम गर्ने वातावरण छ कि छैन त्यो अत्यन्तै महत्वपूर्ण कुरा हो ।

काम गर्ने ठाउँमा काम गर्ने वातावरण छैन भने तपाईमा तनाव बढ्छ । मान्छे दुःखी हुनेबित्तिकै शरीरमा केही न केही नकरात्मक तत्व बढ्छ । त्यसले शरीरलाई असर गर्छ । कहिलेकाहीं अत्याधिक तनावको कारणले पनि मान्छेलाई हृदयघात हुन सक्छ । यो कुरा मान्छेलाई पहिले थाहा हुँदैन । जुन बेला हृदयघात हुन्छ, त्यो बेला मात्रै थाहा हुन्छ ।

बढ्दो उमेर
बढ्दो उमेर पनि हृदयघातको अर्को कारण हुन सक्छ । यो मान्छेले अनुभव गर्दैन । तर जब उमेर बढ्दै जान्छ नि मान्छे धेरै होसियार हुन आवश्यक छ । कस्तो खाने, व्यायाम गर्ने लगायतका विषयमा जानकार हुन जरुरी छ ।

शारीरिक निश्क्रियता
शारीरिक निश्क्रियता पनि हृदयघातको अर्को कारण हो । शरीर निश्क्रिय हुँदा पनि मुटु रोगको जोखिम हुन सक्छ ।

मोटोपना
मोटोपना पनि अर्को कारक तत्व हो । तर हरेक मान्छेलाई म मोटो छैन कि भन्ने लागिरहेको हुन्छ । विएमआइ २५ भन्दा बढी भयो भने त्यो गलत हो । वेट मेन्टेन गर्नुपर्छ । दुब्लो देखिने मान्छेमा पनि मोटोपना हुन सक्छ ।

गलत संस्कार
संस्कार पनि अर्को तत्व हो । हाम्रो संस्कार कस्तो छ भने नहिँड्ने, तौल कम नगर्ने, दुब्लो नबन्ने, खराब खाना खाने लगायतका बानी छन् ।

यी सबै कुरा संस्कारसँग जोडिएका छन् र यीनै कारणले पनि हृदयघात हुन सक्छ । आमा हिँड्यो भने छोरीलाई पनि हिँड्ने बानी हुन्छ । यसरी राम्रो संस्कारको सुरुवात गर्नुपर्छ ।

त्यसैले, सोंचमा परिवर्तन आउनुपर्छ । चकलेट लिएर आफन्त भेट्न जाने संस्कार पनि अत्यन्तै गलत छ । पार्टीमा जाँदा मन लागेको सबै खान्छौं हामी । यो गलत कुरा हो ।

धेरै खाँदा पनि मान्छेलाई हृदयघात हुँदो रहेछ । बोसो खाँदा पनि त्यस्तो हुन्छ । 

उल्लेखित कारणहरुले जनसंख्याको लगभग सबै मान्छेलाई समेट्छ । त्यसैले हामी कुनै न कुनै रुपमा मुटु रोगको जोखिममा छौं । यसको लागि मान्छेको व्यवहार र सोंचमा परिवर्तन आउन जरुरी छ । काम गर्ने शैलीमा परिवर्तन आउनुपर्छ ।

महत्वपूर्ण कुरा रिस गर्ने बानी पनि छोड्नुपर्छ । काठमाडौंको सडकमा हिंडिरहनुभएको छ, ट्राफिक जामले गर्दा तपाई अत्यधिक रिसाउनुभयो भने त्यो बेला तपाईंलाई हृदयघातको सम्भावना बढ्छ । मुटु रोग लाग्न सक्छ । 

प्रदुषणले गर्दा यसैपनि शरीरमा नकरात्मक असर परेको हुन्छ । त्यही बेला अत्यधिक रिस पनि भयो भने तत्काल हृदयघात हुन सक्ने समस्या हुन्छ ।

लुकेका तत्वहरु मान्छेले सोचेकै हुँदैन । यीमध्ये धेरै कुरा मान्छेलाई थाहा पनि छ । तर देखासिकीमा लागेर मान्छेले सबै बिर्सिएको छ । तर तत्काल यी विषयमा सचेत हुनुपर्छ ।

(काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत मुटुरोग विशेषज्ञ डाक्टर डा. ओम मुर्ति अनिलसँग लोकान्तरका विशाल भट्टराइले गरेको कुराकानीमा आधारित )

http://lokaantar.com/aalekh/18163



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Health and Wellness | Clinical Psychology
17 September 2017

READ MORE
Health and Wellness | Rheumatology
17 September 2017

READ MORE