बालबालिकामा थाइराइड समस्या


बालबालिकामा थाइराइड समस्या

थाइराइड हर्मोन गर्भवती भएको पहिलो दिनदेखि जन्मेपछि १८ वर्षको उमेरसम्म बालबालिकाको हुर्कंदो अवस्था र मस्तिष्कको विकास (बुद्धि लब्धि) को लागि जरूरी पर्ने हर्मोन हो । बालबालिकाको मस्तिष्क विकासको लागि पहिलो तीन वर्ष धेरै महत्ववपूर्ण हुन्छ, विशेष गरी पहिलो छ महिनाको अवधिमा आयोडिनको कमी भएमा स्थायी रूपमा बुद्धि लब्धिको कमी हुन जान्छ । यदि हामीले समयमा समस्याको पहिचान र निदान गर्न नसकेको खण्डमा एक महिना ढिलो भयो भने ती बालबालिकाको बुद्धि लब्धिमा पाँच प्वाइन्टको कम हुन जान्छ ।

नेपालमा यस्ता बालबालिकाको संख्या ठूलो रहेको अनुमान छ । यसको मुख्य कारण, धेरै पहाडि र हिमाली क्षेत्र रहेको नेपालको भौगोलिक अवस्था र त्यहाँको माटोमा रहेको आयोडिनको कमी हुनु हो । अर्को कारणमा नेपालमा मौसमी अवस्थाका कारण धेरै पानी पर्ने र पानीले माटोमा रहेको आयोडिनलाई बगाउँछ । यसले गर्दा माटोमा आयोडिनको मात्रा कमी भएर अन्न तथा खानेकुरामा आयोडिन कम रहने गरेको छ । साथमा यसको महत्ववको विषयमा जनचेतनाको कमी रहेकोले पनि यस्तो अवस्थाको सामना गर्नु परिरहेको छ ।

विश्वमा करिब दुई सय मिलियन भन्दा बढी मानिसमा थाइराइडको कारण बिरामी हुने गरेको पछिल्लो तथ्यांकले देखाएका छन् । यो समस्यामध्ये ५० प्रतिशत बिरामीमा जनचेतना नभएको देखिएको छ । विश्वको जनसंख्याको करिब ३० प्रतिशत मानिस आयोडिन कमी भएका क्षेत्रमा बसोबास गर्ने गरेको अध्ययनहरूले देखाएको छ ।विश्वको तथ्यांकअनुसार हरेक चार हजार नबजात शिशुमध्ये एकजना थाइराइडको समस्या लिएर जन्मिन्छन् । यि शिशुलाई समयमै समस्याको पहिचान तथा निदान नभएर मस्तिष्कमा र शारीरिक विकासमा स्थायीरूपमा असर पर्ने गरेको छ ।

के हो यो थाइरोइड हर्मोन र यसले के काम गर्छ ?

थाइराइड हर्मोनको मुख्य काम हड्डीको विकास, शारीरिक विकास, तापक्रम नियन्त्रणसँगै अझ महत्ववपूर्ण रूपमा यसले मस्तिष्कको विकास तथा परिपक्वतामा भूमिका खेल्दछ । थाइराइड हर्मोनले गर्भवती भएको पहिलो तिन महिनामा गर्भमा रहेको भ्रुणको मस्तिष्कको विकास र त्यसको परिपक्वतामा अत्यन्त महत्ववपूर्ण भूमिका खेल्दछ ।

बालबालिकाको भविष्य हाम्रै हातमा छ । थाइराइड रोगको उपचार समयमै पाएपछि बालबालिकाको शारीरिक विकास, मानसिक विकास र उचाइमा दिन प्रतिदिन उल्लेख्यरूपमा सुध्रँदै जान्छ ।

यसैगरी, नबजात शिशुमा यस हर्मोनको कमी हुनु वा नहुनुले पनि मस्तिष्कको विकासमा महत्ववपूर्ण भूमिका खेल्दछ जसले गर्दा स्थायीरूपमा नै बुद्धि लब्धिको कमी हुन जान्छ । यसैकारण, संसारका धेरै देशहरुमा रोकथाम गर्न सक्ने स्थायी बुद्धि लब्धिको कमी हुने किसिमका रोगमध्येमा हाइपो थाइराइडिज्म पहिलो स्थानमा आउँछ ।थाइराइड ग्रन्थी कम चल्यो भने हाइपो थाइराइडिज्म र बढी चल्यो भने हाइपर थाइराइडिज्म भनिन्छ । बालबालिकामा बढी हाइपो थाइराइडिज्म देखिन्छ ।

थाइराइड हर्मोन कमी भएका बालबालिकाको कसरी चिन्ने ?

नबजात शिशुमा थाइराइडको कमी हुँदा देखिने लक्षण—सुस्तता तथा बढी हलचल नगर्ने, धोद्रो स्वरमा रुने, जिब्रो लामो भएर धेरैजसो मुखबाट बाहिर निकाल्ने, नाइटोमा हर्निया देखिने, नबजात शिशुमा जण्डिस देखिने,आमाको दूध खान नमान्ने अथवा गाह्रो मानेर खाने, कब्जियत हुने,शरीरको तापक्रमलाई आफैंले नियन्त्रणमा राख्न नसक्ने, बालबालिकामा थाइराइडको कमी हुँदा देखिने लक्षण—परिवारमा थाइराइडको समस्या हुनु, दाँत ढिलो निस्कनु, ढिलो हिँड्ने र बोल्ने, शारीरिक विकास नहुनु, उचाइ नबढ्नु, खाना राम्ररी नखाँदा समेत तौल अत्यधिक बढ्नु, कब्जियत हुनु, छाला सुख्खा हुने, कपाल झर्ने, चिसो लाग्ने, सुस्त स्वभावको बच्चा हुनु, धेरै सुत्ने, एकाग्रताको समस्या हुनु र विद्यालयमा सफल नहुनु, बुद्धि लब्धिको कमी हुनुजस्ता लक्षण थाइराइडको कमी भएका कारणले देखिन्छन् । 

माथि चर्चा गरिएका लक्षण देखिएमा बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा लगेर उपचार गराउनुपर्ने हुन्छ । यस रोग निदानका लागि लक्षण र थाइराइड हर्मोनको जाँच गरिन्छ र हार्मोन बढी वा कमी देखिएमा त्यसको आधारमा उपचार गरिन्छ । उपचार सरल र सुलभ छ ।
हाम्रो बालबालिकाको भविष्य हाम्रै हातमा रहेको छ । थाइराइड रोगको उपचार समयमै पाएपछि बालबालिकाको शारीरिक विकास, मानसिक विकास र उचाइमा दिन प्रतिदिन उल्लेख्यरूपमा सुध्रँदै जान्छ ।
—साह धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका बालरोग विभागका निर्देशक हुन् ।

http://annapurnapost.com/news/71690



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Health Hotline with Dr Prashant Tripathi
02 November 2017

READ MORE
वायु प्रदुषणले नाकमा मासु पलाउन सक्छ, बच्ने कसरी ?
01 November 2017

READ MORE