स्वास्थ्य क्षेत्रका गतिशील अभियन्ता


01

 

च क्रराज पाण्डेले चिकित्सक सेवामा दुई दशक छिचोलिसके । दौडधुपमय जिन्दगीमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. पाण्डेले नेपालको स्वास्थ्य सेवालाई उन्नत, समृद्ध र अन्तर्राष्ट्रियस्तरको तुल्याउन आफ्नो तहबाट यथेष्ठ कामसमेत गरे । तर, उनले जीवन–यात्रामा पहिल्याएको एउटै मात्र कुरा हो, तन्मयता । कठोर परिश्रम, गतिशीलता र नौलो ज्ञान आर्जन त त्यसमा स्वाभाविक रूपमा जोडिएकै छन् ।टर्कीको राजधानी अंकारास्थित हाजेतेपे मेडिकल कलेजबाट अप्रिल १९९७ मा हाडजोर्नीमा विशेषज्ञता गरेर स्वदेश फर्किएपछि त्रिपुरेश्वरस्थित डा. अशोक बाँस्कोटाको काठमाडौं नर्सिङहोमबाट सेवा प्रारम्भ गरेका उनले सदैव एउटै संस्थामा रहेर तन्मयतापूर्वक जिम्मेवारी पूरा गर्न चाहे ।

भन्छन्, ‘मेरो कमजोरी नै ठान्नुस्, म कुनै एक ठाउँमा काम गर्न थालेपछि त्यसमै तन्मयपूर्वक काम गर्थेँ, अरू ठाउँमा काम गर्न सक्दै सक्दिनथेँ ।’ उनको त्यस्तो स्वभाव अहिले ग्रान्डी इन्टरनेसनल हस्पिटललाई नेतृत्व दिँदा पनि यथावत छ । उक्त अस्पताल डा. पाण्डेकै परिकल्पनाको मूर्त रूप हो । अन्तर्राष्ट्रिय गुणस्तरको सुविधा दिने उद्देश्यले स्थापित ग्रान्डीको जग खनिनुको भित्री कथा बेग्लै छ । सन् २००७ मा उनले पाँच बिरामीको शल्यक्रिया गरे । तीमध्ये दुई जनामा इन्फेक्सनको समस्या देखियो । एक जनाको समस्या दोहोर्‍याएर शल्यक्रिया गरेपछि हट्यो भने अर्काको इन्फेक्सन रहिरह्यो । भन्छन्, ‘हाम्रा अस्पतालहरूको स्ट्यान्डर्ड अफ केयर नभएर नै यस्ता समस्या निम्तिएको मैले महसुस गरेँ ।

र, हामीले उच्च गुणस्तरीय अस्पताल बनायौं भने इन्फेक्सन दर घटाउन सक्ने लाग्यो ।’ त्यसपछि, सन् २०१० मा उक्त अस्पतालको स्थापना भयो । यी विज्ञापनका हरफहरू होइनन्, ग्रान्डीले उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । डा. पाण्डे कुनै पनि बिरामीलाई समयमै उपचार गर्न सके बचाउन सकिने तर्क राख्छन् । भन्छन्, ‘पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई पनि समयमै अस्पताल पुर्‍याउन सकेको भए बचाउन सकिन्थ्यो । यदि पूर्वप्रधानमन्त्रीलाई आकस्मिक अवस्थामा जोगाउन सकिन्छ भने सामान्य नागरिकलाई पनि निश्चितै जोगाउन सकिन्छ ।’ बिरामीको उपचारमा ‘समयको महत्व’ प्रभावशाली हुने ठानेर नै ग्रान्डीको छतमा हेलिप्याडको समेत व्यवस्था गरिएको छ ।

डा. चक्रराज पाण्डेले जीवन–यात्रामा पहिल्याएको एउटै मात्र कुरा हो, तन्मयता। कठोर परिश्रम, गतिशीलता र नौलो ज्ञान आर्जन त स्वाभाविक रूपमा जोडिएकै छन्।

उनी भन्छन्, ‘उपचारको प्रभावकारिता निश्चित समयभित्र उपयुक्त नतिजा निकाल्नु हो । त्यसका लागि हामीसँग लामो समय छैन र एउटा राम्रो अस्पताल बनाएर मात्र पनि पुग्दैन । देशैभरिका स्वास्थ्य संस्थालाई सबल बनाउनुपर्छ ।’ समयमै अस्पताल ल्याइएका गहन प्रकृतिका बिरामीलाई दुई सयजति चिकित्सक र चार सयजति नर्सको टोलीले बचाउन सकेकामा डा. पाण्डे गर्व गर्छन् । एक पटक कुनै हिमाली जिल्लामा यार्सागुम्बा संकलन गर्न जाँदा दुई पक्षबीच छुरा हानाहान भयो । घटनालगत्तै ती घाइतेलाई हेलिकप्टरबाट अस्पतालसम्म ल्याइयो । उनको मुटुको प्वाल नै छेडिने गरी छुरा रोपिएको थियो । डा. पाण्डे सम्झिन्छन्, ‘ती घाइतेको मुटुमा औंला नै छिथ्र्यो । हामीले उनलाई बचायौं ।’

यस्तै अर्को केस पनि छ । काठमाडौंमै मजदुरी पेसामा रहेका दुई जनाबीच झगडा भयो । आवेगमा आएर एकले अर्काको हात नै काटिदिए । समयमै अस्पताल ल्याइपु¥याइएकाले उनको हात जोडियो । ग्रान्डीका बोर्ड अफ डाइरेक्टर तथा हाडजोर्नी विभागका प्रमुख डा. पाण्डेले यस्ता थुपै्र बिरामीलाई जीवन दिएका छन् । हुन पनि, इन्जिनियर दीपक कुँवर र अन्य बोर्ड सदस्यका अतुलनीय योगदान र एक सय २६ सेयरधनीबाट उठेको ग्रान्डीलाई उच्चस्तरीय सेवा, सुविधाले युक्त अस्पतालका रूपमा उभ्याउन डा. पाण्डेलगायत परिपक्व, विशेषज्ञ चिकित्सक–गणको सदैव क्रियाशीलता रहँदै आएको छ । ५४ वर्षअघि सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएका डा. पाण्डे कुनै सम्पन्न परिवारका सदस्य भने थिएनन् । भन्छन्, ‘म संघर्षबाट माथि उठेको व्यक्ति हुँ । जीवनका हरेक मोडमा संघर्ष गरेको छु ।’

chakraraj

ग्रामीण भेगमा जन्मिए पनि उनको शिक्षा–दीक्षा भने काठमाडौंमै भयो । ५–६ वर्षकै हुँदा काठमाडौंमा सरकारी सेवामा रहेका काका ठाकुरप्रसाद पाण्डेले उनलाई आफूसँगै राखेर पढाए । बत्तीसपुतलीस्थित काकाको घरमा रहेर उनी त्यतिबेलाको चर्चित स्कुल ल्याबरोटरीमा १ कक्षामा भर्ना भए । ०२८ सालमा नयाँ शिक्षा लागु भएपछि ल्याबरोटरी स्कुलको शुल्क २५ बाट बढेर एकैपटक ६५ रुपैयाँ पुग्यो । त्यसपछि भने आर्थिक रूपले धान्न मुस्किल प¥यो र अलि सस्तो विजय मेमोरियलमा भर्ना भएर पढ्न थाले । सम्झिन्छन्, ‘ल्याबरोटरीमा २५ रुपैयाँमा बस र खाजाको सुविधासमेत थियो । मेरो पढाइ राम्रो भएकाले पुनः ल्याबरोटरीमै पढ्न थालेँ ।’

राजनीतिक उथलपुथलले भरिएको ०३६ सालमा उनले एसएलसी उत्तीर्ण गरे, बोर्डमा छैटौं स्थान ल्याएर । भन्छन्, ‘म अध्ययनशील विद्यार्थीमा गनिन्थेँ र बोर्डमा ल्याउँछु भन्ने अपेक्षा राखेको थिएँ । मेरो र बोर्डमा पहिलो हुनेको ३५ नम्बरको अन्तर थियो ।’ त्यतिबेला बोर्डफस्ट भएका थिए, बुढानीलकण्ठका द्वारिकाप्रसाद श्रेष्ठ । त्यसपछि उनले अमृत साइन्स कलेजबाट अध्ययन अगाडि बढाए । त्यतिबेला बोर्डमा आउने विद्यार्थीहरूलाई उक्त कलेजले दुई सय ५० रुपैयाँ छात्रवृत्ति दिन्थ्यो । त्यही रकमले शुल्क तिर्न पुग्थ्यो । तर, ०३६ सालको विद्यार्थी आन्दोलन र त्यसले निम्त्याएको राजनीतिक परिवर्तनको हावा यति तीव्र गतिले बहन थाल्यो, उनको अध्ययन–यात्रामा सानातिना पतिंगरहरू तेर्सिन आइपुगे । भन्छन्, ‘सन् १९८१ मा पढाइ शुरु गरे पनि आन्दोलनका कारण १९८४ मा मात्रै सकियो ।’

विद्यार्थी जीवन संघर्ष र कठिनाइबीच गुज्रिरहँदा सक्रिय राजनीतिमा भाग लिने चाहना भने उनीभित्र कहिल्यै आएन । अध्ययनलाई नै मुख्य प्राथमिकतामा राखे । तर, बहुदल र निर्दलको दुई कित्तामा देश बाँडिएको हुँदा बहुदलीय पक्षधर कांग्रेसका नेता बीपी कोइरालाले के बोल्छन् भन्ने चासोचाहिँ उनमा थियो । भन्छन्, ‘मलाई बीपीको आवाज मन पथ्र्यो । चाबहिलको अहिले तरकारी पसल भएको ठाउँमा बीपीले भाषण गरेका थिए, म सुन्न गएको थिएँ । मसिनो स्वरले बोलेका थिए । सायद घाँटीमा केही समस्या थियो ।’ बीपीको भाषण र आकर्षणले उनलाई अझै डोर्‍याउँदै लग्यो र चाबहिलभन्दा मुनि बीपी बस्ने घरमा पुगे । भित्र कोठामा बीपी र शैलजा आचार्यहरू बसिरहेका थिए ।

उनले आफू अस्कलमा पढ्ने विद्यार्थी भएको चिनारी दिएपछि कोठाभित्र सहजै पस्न दिए । त्यो क्षण डा. पाण्डे सम्झिन्छन्, ‘नेताहरूको बाक्लो जमघट थियो । बीपीले आफ्ना कुरा राखेका थिए । एक छेउमा बसेर मैले पनि उनका कुरा चाखपूर्वक सुनेँ ।’अस्कलमा पढ्दापढ्दै उनले एउटा झट्का बेहोर्नु प¥यो । ‘सेकेन्ड टर्म’को परीक्षामा उनी अनुत्तीर्ण भए । भन्छन्, ‘आश्चर्यमा परेँ । किनकि, अनुत्तीर्ण हुने कुनै सम्भावना नै थिएन ।’ त्यसपछि उनले कापीको पुनःपरीक्षण गराए । तर, बोटानी र जुलोजीमध्ये एकमा पूरै नम्बर नै जोडिएको रहेनछ । तीन महिनापछि उत्तीर्ण भएपछि उनले टर्की र चीनका लागि एमबीबीएसमा छात्रवृत्तिका लागि आवेदन दिए ।

त्यतिबेलासम्म अरू देशमा छात्रवृत्तिका लागि समय सकिइसकेको थियो । सन् १९९१ मा टर्कीको हाजेतेपे युनिभर्सिटीबाट एमबीबीएस अध्ययन पूरा गरेपछि स्वदेश फर्किएर ६ महिनासम्म वीर अस्पतालमा ‘अनररी’ सेवा गरे । लगत्तै सन् १९९२ मा टर्कीमै छात्रवृत्ति पाएपछि एमडीको अध्ययन गर्न गए र १९९७ मा हाडजोर्नीमा विशेषज्ञता गरेर फर्किए । भन्छन्, ‘मैले टर्कीमै अवसर पाएको थिएँ । तर, आफ्नै देश फर्किएर स्वास्थ्य क्षेत्रमा केही गरौं भन्ने चाहना थियो ।’देशमै फर्किएर सेवा गर्ने भाव अंकुराउनुमा भने आमाको सुझावले काम गरेको डा. पाण्डे ठान्छन् । विदेशमा उच्च अध्ययनमा रहँदा नै आमा र बुवा गुमाएका उनलाई आमाले बेला–बेला भन्ने गर्नु हुन्थ्यो, ‘बाबु, तिमी देशमै फर्किएर मजस्तै बूढाबूढी र जनताको सेवा गर है ।’ आमाका त्यही वाक्यले उनलाई अहिले पनि छोइरहन्छ ।

सानैमा काठमाडौं आएर पढ्न थाले पनि सडक सञ्‍जालले नजोडिएको जन्मथलो मेलम्ची भने उनी बिदाका समयमा पुगिरहन्थे। 

सानैमा काठमाडौं आएर पढ्न थाले पनि सडक सञ्जालले नजोडिएको मेलम्चीमा भने उनी बिदाका समयमा पुगिरहन्थे । घरबाट निकै तल इन्द्रावती र मेलम्ची नदी बगेका दृश्यहरू हेर्दा उनी भावुक र द्रवित हुन्थे । भन्छन्, ‘म गाउँमा जाँदा स्कुलका विद्यार्थीलाई बटुलेर वृक्षारोपण गर्थेँ । आमालाई सहयोग होस् भनेर जंगल गएर दाउरा र घाँस काट्थेँ । भकारो सोहोर्थेँ ।’ आमाले दिएका ‘गरिब, दुःखीहरूलाई सेवा गर’ भन्ने सुझावलाई उनले आफ्नो पेसामा अधिक व्यस्त रहँदारहँदै पनि ग्रहण गरेका छन्, लागु गरेका छन् ।

नम्र, मृदुभाषी र व्यवहार–कौशलले भरिपूर्ण डा. पाण्डे भावुकताको डिलमा आफूलाई उभ्याउँदै भन्छन्, ‘आफ्नो क्षेत्रमा जति नै सफल भए पनि मेरो जग भनेको गाउँ नै हो, गाईभैंसी चराउने मेरा बुवा–आमा नै हुन् ।’ त्यही भएर असहाय, गरिब एवं सीमान्त तहका जनताको स्वास्थ्य सेवामा आफूलाई समर्पित तुल्याउनुपर्छ भन्ने भावनाले उनले सन् २००३ मा हाडजोर्नीसम्बन्धी च्यारिटी र रिसर्च फाउन्डेसन प्रारम्भ गरे । भन्छन्, ‘हाडजोर्नीसम्बन्धी गरिब र असहाय बिरामीलाई पैसा नलिइकन अप्रेसन र सेवा प्रदान गर्दै आएको छु । जबसम्म मैले त्यो वर्गका बिरामीलाई सेवा गर्न सक्दिनँ, तबसम्म सन्तुष्ट हुन सक्दिनँ ।’

उनले अहिलेसम्म हाडजोर्नीसम्बन्धी सीमान्त तहका ७० भन्दा बढी बिरामीका ठूला शल्यक्रिया गरिसकेका छन् । उनको यो काममा पत्नी डा. सपना पाण्डेको पनि अह्म सहयोग रहँदै आएको छ । डा. पाण्डेको व्यस्तताको त कुरै नउप्काए पनि हुन्छ । धापासीस्थित ग्रान्डी अस्पतालको नजिकै रहेको टावरमा सपरिवार बस्दै आएका उनी हरेक दिन १२ घन्टा काममा खटिन्छन् । तर, खटाइको सीमा छैन । भन्छन्, ‘कुनै बेला त १८ घण्टासम्मै काम गर्नुपर्ने हुन्छ । २५ वर्षदेखि म यसरी नै खट्दै आएको छु ।’ हुन पनि, २५ वर्षको अवधिमा साना–ठूला गरेर ४० हजारजति अप्रेसन र करिब दुई लाख बिरामीलाई ओपीडी सेवा दिइसकेका डा. पाण्डे ‘फुर्सद’ भन्ने शब्दसँग बेखबरजस्तै देखिन्छन् ।

भन्छन्, ‘बिहे, व्रतबन्ध र अरू गतिविधिमा सामेल हुन निम्तो आउँछन् । तर, अस्पतालको काममा खट्दा यति थकित भइसकेको हुन्छु, त्यस्ता समारोहमा सहभागी हुनै सक्दिनँ । कतिपयले त मलाई असामाजिक व्यक्ति पनि भनेका होलान् ।’ उनको व्यस्तता किंवदन्तीजस्तो पनि लाग्छ । सन् १९९८ मा छोराको पास्नी थियो । पास्नीमा छोरालाई भात ख्वाउन जानुपर्ने थियो । त्यही बेला चितवनबाट उनका छोराभन्दा केही वर्ष जेठा यस्ता बिरामी अस्पतालमा आए, तुरुन्तै अप्रेसन गर्नुपर्ने भयो । भन्छन्, ‘ती बच्चाको कुइनाको हड्डी नै बाहिर निस्किएको थियो । छोराको पास्नीमा जाने कि ती बच्चाको अप्रेसन गर्ने भन्ने द्विविधा पैदा भयो । तर, अप्रेसन गर्नु नै कर्तव्य ठानेँ ।’

विगतमा टेबुलटेनिस खेल्थे, अहिले भने व्यस्तताले गर्दा इलिप्टिकल मेसिनमा दैनिक आधा घण्टा दौडिन्छन् । अस्पतालमा सकेसम्म लिफ्ट चढ्दैनन् । बिरामी जाँच्दा पनि एउटै कोठामा सीमित नरही विभिन्न कोठामा घुमेर जाँच्छन् । भन्छन्, ‘काम गर्ने शैलीको गतिशीलताले स्वस्थ बन्न सकिन्छ ।’ अध्ययन त उनको कहिल्यै नछुट्ने पाटो हो । अहिले उनले ड्यानियल गोलम्यानको ‘वर्किङ विथ इमोसनल इन्टेलिजेन्स’ किताब अध्ययन गरिरहेका छन् । रल्फ डोबेल्लीको ‘दी आर्ट अफ थिंकिङ क्लियर्ली’ मन पर्ने डा. पाण्डले तीन पटक पढेको किताब हो, थोमस फ्रिडम्यानको ‘दी वल्र्ड अफ फ्ल्याट’ । भन्छन्, ‘आफ्नो विषय र अरू क्षेत्रका किताबहरू पनि पढ्ने गर्छु । मैले २० वर्षअघि पढेका कुराहरूमा अहिले धेरै परिवर्तन आइसकेका छन् ।’

http://today.annapurnapost.com/social/405



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Health Hotline with Dr Prashant Tripathi
02 November 2017

READ MORE
वायु प्रदुषणले नाकमा मासु पलाउन सक्छ, बच्ने कसरी ?
01 November 2017

READ MORE