बुढ्यौलीको रोग- अल्जाइमर्स


काठमाडौँ — नेपालको सन्दर्भमा भने अल्जाइमर्स रोगको बारेमा आम नागरिकमा मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित जनशक्तिहरूमा पनि चेतना अत्यन्त न्यून छ, जसका कारण स्मरण शक्तिसँग सम्बन्धित यो समस्या केवल मानसिक रोगको रूपमा मात्र बुझिँदै आएको पाइन्छ ।

प्रतिकात्मक तस्बिर ।

 

सामान्य रूपमा भन्ने हो भने अल्जाइमर्स बुढ्यौलीसँगै स्मरण शक्ति तथा मनमस्तिष्कका अन्य क्षमता क्रमिक रूपमा घट्दै जाने विभिन्न रोगमध्ये सबैभन्दा धेरै देखिने स्वास्थ्य समस्या हो।


स्मरण शक्तिसँग सम्बन्धित विभिन्न समस्याका साथमा अस्पतालमा आएर जचाएकाहरूमध्ये ६० देखि ८० प्रतिशत मानिसमा अल्जाइमर्स देखिन्छ। नेपालमा भने अल्जाइमर्सका बिरामीको यकिन तथ्यांक नभए पनि बढ्दो जनचेतना र स्वास्थ्य सेवामा आएको सुधारसँगै यस रोगका बिरामी पनि देखा पर्ने क्रम बढ्दो छ।
अन्तर्राष्ट्रिय रूपमा विशेषगरी अमेरिकी तथ्यांकअनुसार मानिसहरूको मृत्युको कारकका रूपमा रहेका प्रमुख १० रोगमध्ये अल्जाइमर्स छैटौं स्थानमा पर्छ।


अल्जाइमर्स यस्तो रोग हो, जसलाई रोकथाम गर्न पनि सकिँदैन र पूर्ण रूपमा निको पार्न पनि सकिँदैन। हरेक तीनजना स्मरण शक्तिसम्बन्धी समस्या भएका ज्येष्ठ नागरिकमध्ये एकजनालाई अल्जाइमर्स रोग रहने गरेको पाइन्छ। त्यसैगरी ६५ वर्षमाथिका ५ दशमलव ४ प्रतिशत जनसंख्यामा यो रोग पाइन्छ।

अल्जाइमर्स रोग एउटा दीर्घरोग हो, जसले मष्तिष्कमा विस्तारै क्षय गराउने गर्दछ। जसका कारण बिरामीमा स्मरण शक्तिका साथसाथै सोच्ने क्षमता, समस्या समाधान गर्ने क्षमता र विस्तारै बोली र भाषामा पनि समस्या आउने गर्छ। बुढ्यौलीसँगै मष्तिष्कमा विभिन्न रसायनमध्ये ‘एसिटाइल कोलिन’ भन्ने रसायनको कमीले स्नायुहरूमा हुने क्षतिका कारण यो रोग लाग्ने गर्छ।


अल्जाइमर्स रोगको मुख्य जोखिमका रूपमा मानिसको बढ्दो उमेर नै रहेको छ। ६५ वर्षको उमेरपछि यो रोग लाग्न सक्ने जोखिम हरेक पाँच वर्षको अन्तरालमा दुई गुणाले बढ्दै जान्छ। विभिन्न अध्ययनले देखाएअनुसार आणुवांशिकता (जेनेटिक्स) का साथसाथै धूमपान, मोटोपना, उच्च रक्तचाप, मधुमेह र टाउकोमा पटकपटक लागेका चोटहरूले बुढ्यौलीसँगै अल्जाइमर्स रोग लाग्नसक्ने जोखिम बढाइरहेका हुन्छन्।


सुरुआती अवस्थामा यस रोगमा बिस्तारै कुरा बिर्संदै जाने, मान्छे र स्थानका नाम बिर्संदै जाने, चीजबीजका नाम बिर्संदै जाने र तत्काल गरेका कामसमेत बिर्सनेलगायतका लक्षण देखिन्छन्। त्यसपछि क्रमिक रूपमा बोली र भाषाको प्रयोगमा असहजता महसुस हुने, पहिले सहज रूपमा गरिआएका काम गर्ने तरिकासमेत भुल्दै जाने (एप्रेक्सिया), योजना बनाउने र निर्णय लिने क्षमतामा कमजोरी देखिँदै जाने र दैनिक जीवनका सबै पक्षमा असहजता र अस्पष्टता बढ्दै जाने हुन्छ।


जब रोग बढ्दै र अन्तिम अवस्थामा पुग्छ तब अल्जाइमर्सका बिरामीले आफन्त र निकटका मानिसहरूलाई समेत विस्तारै चिन्न नसक्ने, आफ्नो वरिपरिका गतिविधिसँग समेत मतलब नहुने, विभिन्न मानसिक समस्या जस्तै चिन्ताको रोग ९डिप्रेसन०, शंकाको रोग ९डिल्युजन र हेलुसिनेसन० देखिने, दिसापिसाबबारेको चेतनासमेत हराउँदै जाने हुन्छ र कपडामै दिसापिसाब छुट्नेसमेत हुन्छ।


साबिकको खाने शैलीमा अस्वाभाविक बदलाव आउने हुन्छ। समय बित्दै जाँदा बिरामीले खाना खाने तरिकासमेत बिर्सने गर्दछन्। जसका कारण बिरामी मात्र नभएर बिरामीको हेरचाह गर्ने निकटका व्यक्ति पनि समस्यामा पर्ने गर्दछन्। सबैभन्दा महत्वपूर्ण र बुझ्नैपर्ने कुरा के छ भने स्मरण शक्ति तथा क्षमतामा ह्रास आउने मस्तिष्कका विभिन्न किसिमका सर्ने र नसर्ने प्रकृतिका अन्य रोगमा पनि यस्तै लक्षण देखिने भएकाले विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नु जरुरी हुन्छ।


अल्जाइमर्स यकिनका साथ पत्ता लगाउन विभिन्न किसिमका परीक्षण विधि अझै अनुसन्धानका क्रममा नै रहेका छन्। बिरामीको रगत र शरीरका अन्य पदार्थमा विभिन्न किसिमका प्रोटिनजन्य रसायनहरूको विश्लेषण गर्ने एमआरआई, स्पेक्टलगायतका विभिन्न प्रविधिको प्रयोगबाट यो रोग निरूपण गर्नका लागि थप अनुसन्धान जारी रहे पनि रोग निरूपणबारे स्पष्ट निर्देशिका बन्न भने अझै सकेको छैन।


अल्जाइमर्स रोग पूर्णरूपमा विकसित भएपछि यसको पूर्ण उपचार सम्भव नहुने हुँदा सुरुआतकै अवस्थामा यसको निरूपण गर्न सकेमा केही औषधिहरूको सहायताले यस रोगको विकासको गतिलाई केही मात्रामा कम गर्न सकिने तथ्य अनुसन्धानहरूले देखाएका छन्। यसका साथसाथै बिरामीको जीवनयापन सहज बनाउने उद्देश्यले यो रोगसँगै देखिने अन्य समस्यालाई लक्षित गरी विभिन्न औषधिहरूको प्रयोग गर्नु फाइदाजनक हुन्छ।


अल्जाइमर्सको औषधीय उपचारसँगै बिरामीको हेरचाह र बिरामीलाई सेवा गर्ने परिवारका सदस्य र आफन्तहरूको सहजतासमेत यस रोगको महत्वपूर्ण पक्ष हो। यस रोगको मध्यम तथा अन्तिम अवस्थातिर दैनिक रूपमा बिरामीको सेवा गर्न दिनरात बिरामीको आफन्त खटिनुपर्ने हुनाले उनीहरूमा पनि शरीरिक तथा मानसिक थकान बढ्दै जाने र त्यसको समयमै निदान नभएमा त्यो आफैंमा प्रत्युत्पादक हुनेसमेत खतरा रहन्छ।


यसकारण समयमै अल्जाइमर्स रोगको निरूपण, चिकित्सकको संलग्नतामा बिरामीमा आउनसक्ने सम्भावित समस्या र तिनको निदानको उचित कार्ययोजना बनाउनु अपरिहार्य छ। बिरामी र आफन्तलाई समेत सहज हुने गरी रोगको उपचार योजना तयारी अघि बढ्नु जरुरी देखिन्छ।

डा. पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका बरिष्ठ कन्सल्ट्यान्ट न्यूरोलोजिष्ट हुन् ।



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Grande Internationl Hospital English 30 Sec
24 January 2018

READ MORE
Supervisor Certificate
19 July 2018

READ MORE