के हो मस्तिष्कघात ? कसरी बच्ने ?


के हो मस्तिष्कघात ? कसरी बच्ने ? 

सन्दर्भः विश्व मस्तिष्कघात दिवस

डा. राजु पौडेल


आज अक्टोबर २९, विश्व मस्तिस्कघात दिवस संसारभर मनाइँदैछ । यो दिवसको अवसरमा नेपालमा पनि विविध चेतनामूलक कार्यक्रम गरिँदैछ ।

मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्कघात भनिन्छ। मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षघात पनि हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिस, लकवालगायतका नामले पनि सम्बोधन गर्ने गरिन्छ।

हाल मृत्युको दोस्रो मुख्य कारण बनेको मस्तिष्कघात अस्पतालहरुको सघन उपचार कक्ष  (आइसियु) प्रवेश र विश्वव्यापी विकलाङ्गताको प्रमुख कारण पनि हो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गरेका छन् ।

जसमध्ये पचास लाख मानिस यही रोगका कारण मृत्युवरण गर्न बाध्य छन् भने ५० लाख अपाङ्ग हुने गरेका छन् । बाँकी रहेका ५० लाखमध्ये १५ लाख भने उपचार र पुनर्स्थापनापछि सामान्य जीवनमा फर्किन सफल हुने गरेका छन् भने ३५ लाख मानिसहरु सामान्य अपाङ्गताका साथ बाँचिरहेका छन् ।

नेपालमा गरिएको एक अध्ययनका अनुसार हरेक वर्ष कुल जनसंख्याको डेढदेखि दुई प्रतिशत मानिसहरुलाई मस्तिष्कघात हुने गरेको छ । जसमध्ये एक तिहाइको मृत्यु, एक तिहाइ अपाङ्गतासहित बाँच्न बाध्य हुन्छन् भने एक तिहाइ समयमा उपचार पाएर सक्रिय जीवनमा फर्कन सक्छन् ।

के हो मस्तिष्क घात ? 

अप्रत्यासित रूपमा अपर्झट हुने, तत्कालै ज्यान जान पनि सक्ने र बाँचिहाले पनि अधिकांश विकलाङ्ग, परनिर्भर र पराश्रित भएर बाँच्नुपर्ने यो समस्याको मुख्य कारण मस्तिष्कको रक्तसञ्चारसँग सम्बन्धित छ । मस्तिष्कलाई रगत आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै रगतकोको थेल्ला जमेर वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा पोषक तत्व र अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरु मर्न जाने समस्या नै मस्तिष्क घात हो ।

मस्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो भने सम्पूर्ण मानसिक क्रियाहरुको प्रोसेसिङ इकाई पनि हो। मस्तिष्क घात हुँदा नष्ट भएका स्नायु तन्तुहरुले गर्ने कार्य सुचारु हुन नसक्दा ज्यानै जाने वा बाँचेकाहरूमा शरीर, मन र भावनासँग सम्बन्धित समस्या देखापर्छन् ।

युरोपीयन मस्तिष्क घात संगठनको तत्वावधानमा १९९० देखि मनाउन सुरू गरिएको बिश्व मस्तिस्कघात दिवसलाई सन् २००४ मा क्यानडाको वेनकुवर सहरमा सम्पन्न विश्व मस्तिस्क घात सम्मेलनले मान्यता प्रदान गरेको थियो । तत्पश्चात् बिश्व स्वास्थ्य संगठनको अगुवाईमा हरेक बर्ष अक्टोबर महिनाको २९ तारिखलाई विश्व मस्तिष्क घात दिवसका रूपमा संसारभर मनाइँदै आइएको छ।

कसलाई हुन्छ मस्तिष्कघात ? 

५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल भएका तथा यी रोगका औषधी कहिले खाने, कहिले छाड्नेहरु, अति व्यस्त जीवनशैली जिउनेहरु, तनाव, चिन्ता, शोकमा परेकाहरु, मुटु तथा रक्तसञ्चार सम्बन्धी समस्या, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्वोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरुमा मस्तिष्क घातको जोखिम उच्च हुन्छ।

यसबाहेक रक्तस्रावसम्बन्धी समस्या, जस्तै– घाउ हुँदा रगत बगेको बग्यै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरु, गर्भ निरोधक औषधि खाने महिलाहरु, परिवारमा मस्तिष्क घातका इतिहास भएकाहरु, टाइप ‘ए’  व्यक्तित्व भएकाहरु, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरुमा मस्तिष्क घात ज्यादा देखिएको छ।

यी हुन् लक्षण

अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिंगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीररको एक पाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखापर्नु, होस हराउनु, एकाएक दृष्टि धुम्मिनु वा बन्द हुनु, बोली लट्पटिनु वा बोल्न नसक्नु, पसिना छुट्नु, वान्ता हुनु लगायत मस्तिष्क घातका लक्षण हुन्।

मस्तिष्क घात आपतकालीन स्थिति भएकाले माथि उल्लिखित लक्षण देखिने बित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन सकियो, त्यति नै धेरै बचाउन वा विकलाङ्गता कम गराउन सकिन्छ। मस्तिष्क घातको आपतकालीन अवस्था सम्हाल्न न्युरोलोजिष्टहरुको टिम नै चाहिन्छ भने रेडियोलोजिष्ट र प्याथोलोजिष्टहरुको पनि उत्तिकै भूमिका हुन्छ।

घातको प्रकृति, प्रकार र क्षतिग्रस्त स्थान थाहा पाउन सिटीस्क्यान, एमआरआइ, ट्रन्सक्रेनियलडोपलर, केरोटिटडोपलर जस्ता विकिरणीय निदान पद्धति अपनाइन्छ भने रक्त परीक्षणबाट रोगको कारण थाहा पाउन सकिन्छ। आपतकालीन व्यवस्थापनका लागि सघन उपचार कक्ष हुन नितान्त जरुरी छ। घातका प्रकृति र कारण थाहा पाएपछि खतराको स्थितिका आधारमा औषधी वा अप्रेसनद्वारा उपचार अगाडि बढाइन्छ।

मस्तिष्क घातपछिका समस्या

सघन तथा आपतकालीन उपचारपश्चात् पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन। बाँचेकामध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिन पर्नेखालका विकलङ्गता देखापर्छ। मस्तिष्क घातले आघात पुर्याएको स्नायुकेन्द्रको स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृति देखापर्छ जसमध्ये प्यारालाइसिस मुख्य हो ।

अन्य समस्यामा एकापटीका हात खुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु, खान चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु स्पर्शादी शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरण शक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मकरूपमा कमजोर हुने जस्ता समस्या आउन सक्छ ।

मस्तिस्कघातको उपचार

पछिल्लो समयमा मस्तिष्क घातको उपचारमा थ्रम्बोलाइसिस (टिस्यु प्लास्मिनोजेन एक्टिभेटर) जमेको रगतको थेग्लोलार्इ फोडेर रक्तनलीको अवरोध खुलाउने उपचार बिधि संसारभर प्रयोगमा छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लगायतका केही अस्पतालहरुले नेपालमा पनि थ्रम्बोलाइसिस उपचार सेवा उपलब्ध गराउँदै आएका छन् ।

आपतकालीन उपचार पश्चात मस्तिष्क घात फेरि हुन नदिन यसका जोखिमहरुको निदान गरेर नियमित रूपमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ भने घातपछि देखिएको विकलाङ्गताको निवारण गर्न पुनर्स्थापना नितान्त जरुरी छ। सही समयमा पुनर्स्थापना हुन सकेमा विकलाङ्ता कम गराएर परनिर्भर हुनबाट बचाइ दैनिक जीवनका कठिनाइहरु हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ ।

पुनर्स्थापना पनि चिकित्सक, फिजियोथेरापिष्ट, नर्सिङ स्टाफ, स्पिचथेरापिस्ट, मनोवैज्ञानिक, योग गुरु, घरका सदस्य र सहयोगीहरुको सामूहिक प्रयास हो ।

एक्सरसाइजथेरापी, इलेक्ट्रोथेरापी र स्पिचथेरापी जस्ता उपचार स्थिति हेरेर सघन उपचार कक्षबाटै सुरु गर्नुपर्ने पनि हुन सक्छ । प्यारालाइसिस भएकाहरुलाई कहिले पनि निको नहुने सम्झेर घरमा थन्क्याएर राख्न हुँदैन, जतिसक्दो चाँडो पुनर्स्थापना केन्द्रमा लगेर उपचार गराउनुपर्छ।

केन्द्रमा चिकित्सकहरुले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मस्तिष्क घातले ल्याएको विकलाङ्गतालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरिथरिका थेरापी र विधि प्रयोग गर्छन्। तीमध्ये एक्टिभ र प्यासिभ एक्सरसाइज, पिएनएफ एक्सरसाइज, मसल स्ट्युमुलेसन, तेल मालिस, अकुपञ्चर, गेट–ट्रेनिङ, मनोपरामर्श, स्पिचथेरापी, दिसापिसावको सम्हार, नर्सिङ केयर जस्ता उपचार पर्छन्।

यसरी बच्न सकिन्छ

१. ४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको नियमित जाँच गराउने गरौं । जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार औषधी खाऔं वा जीवनशैली परिवर्तन गरौं । औषधी सेवन गरी यी रोग नियन्त्रित भए पनि आफूखुसी औषधी खान छाड्ने नगरौं।
२. धूमपान, मद्यपान, सूर्ति र नशालु पदार्थ सेवन नगरौं।
३. शरीरको तौललाई आफ्नो कदअनुसार नियन्त्रणमा राखौं।
४. नियमित हल्का व्यायाम गर्ने बानी बसालौं । तर, जोखिममा परेकाले भुलेर पनि कठिन व्यायाम गर्नु हुँदैन।
५. स्वस्थ्यकर खाना खासगरी मसिनो मीठो भन्दा खस्रो मोटो खाना, हरियो सागसब्जी, फलफूल, रेसा र चोकरयुक्त भोजनलाई प्राथमिकता दिऔं। तेल, घिउ, बोसो जस्ता चिल्ला पदार्थ कम खाऔं । भिटामिन ई युक्त पदार्थलाई खानामा अवश्य समावेश गरौं।
६. तनावलाई त्यागौं, विश्राम गरौं, भावनालाई नियन्त्रण गरौं, जोखिमपूर्ण जीवनशैली र व्यक्तित्व भए, त्यसलाई सरल बनाउँ ।
७. मष्स्तिक घातका जोखिम मानिने शारीरिक समस्या, जस्तै– नसाभित्रै रगत जम्ने रोग, मुटु तथा रक्तसञ्चार सम्बन्धी रोग, जस्तै– एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्व्रोसिस, एन्युरिजम, लेफ्ट भेन्ट्रिकुलार डाइलेटेसन जस्ता समस्या समयमै निवारण गर्नुपर्ने हुन्छ ।

२०७४ कार्तिक १३ गते १०:११ मा प्रकाशित

https://www.onlinekhabar.com/2017/10/635431



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Health Hotline with Dr Prashant Tripathi
02 November 2017

READ MORE
वायु प्रदुषणले नाकमा मासु पलाउन सक्छ, बच्ने कसरी ?
01 November 2017

READ MORE