डाक्टरहरु किन ‘मोटा’ हुन्छन् ?


 

डा. मिलनप्रकाश श्रेष्ठ

ब्लड प्रेसरको समस्या भएका एक जना बिरामीलाई जाँच्दै थिएँ । उनको मोटोपन अलि बढी नै थियो ।

 

उनलाई सम्झाउन थालेँ, ‘अहिले नै तीनथरी औषधि खाँदै हुनुहुन्छ । प्रेसर अझै बढी भएकोले औषधि थप्नुपर्ने भो । यस्तै तालले अझै मोटाउँदै जानुभो भने त सुगर पनि चाँडै हुन्छ अनि अझ औषधि थपिन्छ । अलि हिँड्ने गर्नुपर्‍यो के, खानामा मात्र कन्ट्रोल गरेर कहाँ हुन्छ र !’

छेउमै बसेकी उनकी पत्नीले भनिहालिन्, ‘हो त नि । जति भने पनि मान्ने भए पो । रक्सी पनि दिनदिनै चाहिने, मासु नभई भातै नरुच्ने । हिंड्नु भनेको पटक्कै छैन । कि मोटरसाइकल, कि त गाडी ।’

म तिर इशारा गर्दै पतिलाई भनिन्, ‘हेर्नुस् त डाक्टरसा’बलाई, कति फिट् देखिनुहुन्छ । भनेको मान्ने भए पो Û’

म झस्किएँ, अरु कुराभन्दा पनि मतिर इशारा गर्दै भनेको कुराले ।

वास्तवमा मेरो आफ्नै वजन पनि अलि बढी भएकोले कसरी घटाउने भनेर चिन्ता लागिरहेकै थियो । तर, बिरामीकी पत्नीले फिट भनिदिइन् । साँच्चै भनिन् कि मेरो मजाक उडाइन्, त्यो थाहा भएन ।

अस्पतालमा दिनभरि यसो गर्नुस् र उसो गर्नुस् भनेर पचासौं बिरामीलाई सल्लाह दिन्छु । तर, सबै कुरा आफैंले पालना गर्न भने मुश्किल पर्छ । अझै भनूँ, धेरैजसो भ्याइन्न । खानपानमा जतिसुकै परहेज पनि आफू अलि मोटो भएको वर्षौंदेखि लाग्दै आएको छ ।

डाक्टरहरु खराब बिरामी

आम सोचाइ छ, डाक्टरहरु बिरामी हुँदैनन् । तर, डाक्टरहरु पनि सामान्य मानिस भएकोले सबैमा हुने कमी-कमजोरी उनीहरुमा पनि हुन सक्छ ।

सबै डाक्टरको दैनिकी करिब उस्तै हुने गर्छ । यसो आफ्नो सेरोफेरोमा धेरैजसो डाक्टर धेरथोर मोटोपनको समस्याले आक्रान्त देखिन्छन् । पुक्लुक्क गाला, पुटुक्क निस्केको पेट अनि पेटमाथि लत्रिएको टाई ।

भनिन्छ, डाक्टरहरु आफैं सबभन्दा खराब बिरामी हुन् । काम नै बिरामीलाई यसो गर्नु, त्यसो नगर्नू र यस्तो खानू, त्यस्तो नखानू भनेर सल्लाह दिने हो । तर, केही अपवाद बाहेक धेरै डाक्टरले आफैं भने ती कुरा पालना गर्न सकेको जस्तो लाग्दैन ।

अर्को कुरा, साह्रै गाह्रो नभएसम्म अस्पतालमा नजाने समग्र नेपालीको बानी डाक्टरहरुमा पनि देखिन्छ । झन् विभिन्न विशेषज्ञता हासिल गरेका आफ्नै साथीहरु भएपछि सल्लाह सित्तैमा पाइन्छ । अनौपचारिक रुपमा साथीभाइसँग सल्लाह लिएर उपचार गरिने भएकोले डाक्टरहरुको स्वास्थ्य समस्याबारे प्रष्ट कुरा बाहिर आउँदैनन् ।

शारीरिक थकान र मानसिक तनावको पिरलो

तौल बढाउनमा तीन चिज कारक मानिन्छन्, अव्यवस्थित खानपान, शारीरिक व्यायामको कमी र मानसिक तनाव । यी तीनै कुरालाई सन्तुलन गर्न नसक्दा जनमानसमा ब्लडप्रेसर, सुगर र मुटुरोगको समस्या बढेको पाइन्छ ।

धेरैजसो डाक्टरको दैनिक जीवनमा यी तीनै कुरा व्याप्त देखिन्छ । बिहानै उठेदेखि सुरु हुने क्लिनिक, अस्पताल, फेरि क्लिनिक, अपरेशन, आईसीयू, नाइट ड्यूटी, अन कल ड्यूटी आदि सबैले डाक्टरलाई २४सै घण्टा व्यस्त पारेको हुन्छ ।

हुन त सबैलाई आफ्नो पेशा उस्तै व्यस्त लाग्छ । तर, म आफूलाई चाहिँ के लाग्छ भने, डाक्टर पेशामा जस्तो मानसिक तनाव अन्य कुनै पेशामा हुँदैन ।

डाक्टरको जीवनमा तनावको क्रम एसएलसी पास भएदेखि नै सुरु हुन्छ । कसैको आफ्नै इच्छा त कसैलाई घरपरिवारको प्रेसरले साइन्स पढ्न सुरु गरिन्छ । इन्टरमिडियट पास गरेपछि एमबीबीएस अध्ययनको सिटको लागि लडाइँ सुरु हुन्छ । लडाइँ जितेर सिट पाएपछि अर्को तनाव सुरु हुन्छ, जुन अर्को पाँच वर्षसम्म चलिरहन्छ । बल्लतल्ल एमबीबीएस पास गर्‍यो, फेरि इन्टर्नसिपको टेन्सन ।

यतिले तनावको क्रम सकिंदैन । इन्टर्नसिपपछि जागिरको खोजी हुन्छ । त्यहाँ पनि उस्तै तनाव हुन्छ । बिहानदेखि साँझसम्म काम गर्‍यो, केही दिन नाइट ड्यूटी गर्‍यो । यसरी केही वर्ष काम गरेपछि अब एमडी गर्नैपर्ने बाध्यताले घचघच्याउन थाल्छ । एमडी गर्ने सिट पाएपछि अर्को पाँच वर्षको निरन्तर तनाव हुन्छ ।

एमडी पनि लौ पूरा गरियो । अब तनाव सुरु हुन्छ, विशेषज्ञ भएर बढी दायित्वसहित काम गर्न थालेपछि । अस्पतालका साथै अन्य क्लिनिकमा पनि काम गर्न थालेपछि जिन्दगीभरि अटुट तनाव सुरु हुन्छ । अझ सर्जनहरुको त दिनचर्या कहिल्यै उही हुँदैन । सधैं बेठेगान ।

शनिबार एकदिन बिदा पाइन्छ । त्यसमा पनि राउण्ड गर्न जाऊ, क्लिनिक जाऊ । शारीरिक तथा मानसिक आराम पटक्कै छैन ।

खानेकुराबारे डाक्टरहरु आफै पनि सचेत भएको कमै पाइन्छ । बिहान छिटै घरबाट निस्किने भएकोले अस्पतालको क्यान्टिन तथा रेष्टुरेन्टहरुमा दिनहुँ मःमः, चाउमिन लगायत फास्टफुडमै डाक्टरहरु मस्त देखिन्छन् । घरबाट खाना बोकेर लाने डाक्टरहरु कमै मात्र पाइन्छन् ।

व्यस्त जीवनशैलीले खाने र सुत्ने समयको ठेगान हुँदैन । प्रकृतिको नियमको उल्टो हिँड्न थालेपछि शरीरमा समस्या हुने भइहाल्यो । शारीरिक व्यायाम नगर्ने, अव्यवस्थित खानपान र जीवनशैलीले गर्दा नै वजन बढ्ने, ब्लडप्रेसर, डाइविटिज आदि रोगको सुरुवात हुन्छ र यसले मुटुरोग, मिर्गौला रोग तथा मस्तिष्कको रोग निम्त्याउँछ । अझ लगातारको मानसिक तनावले त हृदयाघातसम्म गराउने कुरा समेत लेखिएको पाइन्छ ।

यो लेखमा डाक्टरलाई प्रतिनिधि पात्रका रुपमा अघि सारिए पनि स्वास्थ्य जाँचका लागि आउने प्रबुद्ध वर्ग, उच्च ओहोदामा पुगेकाहरु, प्रतिष्ठित व्यापारीहरु आदि सबैको यो साझा समस्या हो ।

कतिपय बिरामीले त खानाहरु एकदम स्वस्थ, विदेशबाट आयात गरिएका वा डिपार्टमेन्टल स्टोरमा महँगोमा किनेर खाने गरेको कुरा गर्छन् । कतिपय दिनहुँ घरमै व्यायाम पनि गर्छन् भने कति हेल्थ क्लबमा गएर व्यायाम पनि गर्छन् । बढी चिल्लो र मासु पनि नखाने र कति त मदिरा सेवन पनि गर्ने नगरेको सुनाउँछन् ।

तर, उनीहरुलाई ब्लडप्रेसर, सुगरको समस्या देखिन्छ र औषधि नियमित खानुपर्ने हुन्छ । कारण खोतल्दै जाँदा यस्ता वर्गका सबैजसो बिरामीमा मानसिक तनावकै साझा समस्या भेटिन्छ ।

यस्तो समूहमा पर्ने हरेकजसो व्यक्तिहरु एकभन्दा बढी संस्थामा आबद्ध, कामको जिम्मेवारी बढी भएको, अरुले गरेको चित्त नबुझेर सबै आफूले नै गर्नुपर्ने बानी भएको, खाने र सुत्ने ठेगान नभएको, आराम गर्ने समय नै नभएको, देशविदेश यात्रा गरिरहनुपर्ने, लेनदेनको तनाव भइरहने जस्ता कुरा बताउँछन् ।
धनसम्पत्ति बढी हुनेलाई कसरी सम्हालूँ, कसरी अझ बढाऊँ भन्ने तनाव भएको देखिन्छ भने नहुनेलाई कसरी पुर्‍याऊँ कसरी बढीभन्दा बढी काम गरेर पैसा कमाऊँ भन्ने मानसिकता भएको पाइन्छ ।

गाह्रो प्रश्नः वजन किन घट्दैन ?

धेरैजसो बिरामीको गुनासो हुन्छ, ‘डाक्टरसा’ब, म गुलियो पनि खान्नँ, माछामासु छोडेको ६ महिना भइसक्यो, राति खानै छोडेको पनि धेरै भइसक्यो । नियमित व्यायाम पनि गर्छु । तर, खै वजन कत्ति पनि घट्दैन त ?’

यस प्रश्नको उत्तर साहै्र गाह्रो छ । हुन त मानिसको शरीर नै अचम्मको हुन्छ कसैलाई थोरै खाए पनि पुग्छ, कसैलाई धेरै खानुपर्छ । कसैको शरीरको बनोट नै सानो त कसैको ठूलो ।

अझ भन्ने हो भने कसैलाई थोरै खाए पनि मोटाउने समस्या हुन्छ भने कति जना जतिसुकै खाए पनि कहिल्यै मोटाउँदैनन् । यस्तो किन हुन्छ भन्ने कुरा भविष्यमा पत्ता लाग्ला । तर, मोटोपन अहिले धेरै मानिसको तनावको विषय बनिसकेको अवस्था छ । हामीले विचार गर्नुपर्ने तथा सिफारिश गरिएका कुरा पनि यति नै हुन्, मोटोपन घटाउनु वा बढ्न नदिन धेरै चिल्लो नखानू, शारीरिक व्यायाम गर्नू तथा मानसिक तनावबाट टाढा रहनू ।

बडी मास इन्डेक्स (बीएमआई)

बडी मास इन्डेक्सले स्वस्थ मानिसको उँचाइ अनुसारको वजन कति हुनुपर्छ भन्ने जनाउँछ । बीएमआई निकाल्न आफ्नो उँचाइ मिटरमा र वजन केजीेमा नाप्नुपर्छ । उँचाइमा आएको मिटरलाई दुई पटक गुणन गरेपछि आउने प्रतिफलले वजनलाई भाग गर्दा जुन अंक आउँछ, त्यही बडी मास इन्डेक्स हो ।

२४.९ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ । २५ देखि २९.९ सम्मलाई ओभरवेट अर्थात् मोटोपना भएको मानिन्छ भने ३० देखि माथि देखिएमा अत्यधिक वजनदारमा गनिन्छ ।

तर, दक्षिण एसियाका मानिसको खानपान, शारीरिक बनावट आदिको आधारमा विश्व स्वास्थ्य संगठनले अलग्गै बीएमआई निर्धारण गरेको छ । दक्षिण एसियालीहरुका लागि १८.५ देखि २२.९ सम्म सामान्य, २३ भन्दा माथि गएमा बढी वजन भएको मानिन्छ ।

बीएमआई चेक गर्न खासै गाह्रो छैन । इन्टरनेटमा BMI टाइप गरेर सर्च गर्नासाथ विभिन्न साइट भेटिन्छन् । कुनै साइटमा गएर आफ्नो उँचाइ र वजन इन्ट्री गर्नासाथै बीएमआई देखाइहाल्छ । यस्तै, गुगल प्लेस्टोरमा पनि बीएमआई देखाउने विभिन्न एप डाउनलोड गर्न सकिन्छ ।

उदाहरणको लागि तपाईंको उँचाइ ५ फुट १० इन्च छ भने तपाईंको तौल ५९ देखि ७७ केजीभित्र रहनुपर्छ । (विस्तृत तलको चार्टमा हेर्नुहोला)

बीएमआई धेरै हुनु भनेको मोटोपन बढी हुनु हो । मोटोपन जति बढी भयो, त्यस्ता व्यक्तिलाई ब्लडप्रेसर, कोलेष्ट्रोल तथा डाइबिटिजको समस्या धेरै भएको पाइएको छ । यसका साथै पित्त थैलीका रोगहरु, घुँडा खिइने समस्या, सुतेको समयमा सास रोकिने (स्लिप एप्निया) को समस्याका साथै पाठेघर, स्तन तथा पाचननलीको क्यान्सर आदि पनि बढी हुनसक्ने अध्ययनहरुले देखाएको छ ।

(डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुुटुरोग विशेषज्ञ हुन्)

२०७३ फागुन १३ गते १०:२० मा प्रकाशित



Subscribe To Our Newsletter
indicates required
RECENT MEDIA / NEWS
Press Release
30 October 2019

READ MORE
Mr. Nabin Adhikari came Grande International Hospital
04 October 2019

READ MORE